नेपालमा डिम्बाशय अर्थात् ओभेरियनको क्यान्सरको वास्तविक स्थितिबारे हालसम्म कुनै विशेष अध्ययन भएको छैन । तथापि के चाहिँ ठोकुवा गर्न सकिन्छ भने, स्त्री रोगसम्बन्धी क्यान्सरमा यो रोगबाट हुने मृत्युदर सबैभन्दा बढी छ ।

डिम्बाशय गर्भाशयको दुवै छेउमा हुने ग्रन्थी हो । यसले महिनावारी कायम रहुन्जेल हरेक महिना एउटा विकसित डिम्ब उत्पादन गर्छ । यही डिम्ब पाठेघरमा गएर शुक्रकीटसंग निषेचित हुन्छ र गर्भ रहने गर्छ ।

डिम्बाशयको क्यान्सरले एउटा वा दुवै डिम्बाशयलाई प्रभावित गर्छ । डिम्बाशयको क्यान्सर नियन्त्रण गर्न कठिनाइ छैन तर यसका लागि क्यान्सर सुरुआती चरणमै पत्ता लगाउनु आवश्यक हुन्छ । 'प्रारम्भिक अवस्थामै डिम्बाशयको क्यान्सर पहिचान गर्न सकियो भने करिब ९० प्रतिशत मामिलालाई नियन्त्रण गर्न सकिन्छ,' भक्तपुर क्यान्सर अस्पताल, स्त्री रोग क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरे भन्छिन्, 'महिनावारी बन्द भएपछि डिम्बाशयको कार्यक्षमता कम हुन्छ । अनि क्यान्सरको खतरा बढ्छ ।'

अमेरिकन क्यान्सर सोसाइटीको तथ्यपत्र अनुसार, उमेरसँगै यो क्यान्सर हुने जोखिम बढ्छ । यो क्यान्सर ४० वर्षमुनिका महिलाहरूमा कम पाइने गरेको छ । धेरैजसो महिलामा ओभरियन क्यान्सर महिनावारी सुकेपछि हुने गरेको छ । आधाभन्दा बढी ओभेरियन क्यान्सरका पीडितहरू ६३ वर्षमाथिका महिला हुने गरेका छन् ।

केही आनुवंशिक कारण भए डिम्बाशय क्यान्सरको खतरा बढ्ने औंल्याउँदै डा. घिमिरे भन्छिन्, 'तीन दशकको उमेरमा पहिलोपटक आमा बन्ने महिलामा यो क्यान्सरको खतरा दोब्बर हुन्छ । यस्तै, स्तन क्यान्सरले पीडित महिलामा समेत डिम्बाशय क्यान्सरको खतरा बढी हुन्छ ।

पहिलो अवस्थामै यो क्यान्सर थाहा पाउन अति गार्‍हो हुन्छ ।'

डा. घिमिरेका अनुसार, नेपालमा यस्ता बिरामीहरू क्यान्सर भएको दोस्रो चरणपछि मात्र उपचारमा पुग्ने गरेका छन् । अधिकांश बिरामी पेटसम्बन्धी समस्या भएको भन्दै महिनौं फिजिसियनकहाँ गइरहेका हुन्छन् ।

ओभेरियन क्यान्सरको निश्चित कारण भने हालसम्म थाहा पाउन सकिएको छैन । विभिन्न अनुसन्धानले औंल्याए अनुसार, पारिवारिक इतिहास समेत यो रोग हुन सक्ने कारण हुन सक्छ । जुन महिलाको पहिलोसम्बन्धी अर्थात् आमा, दिदी, बहिनी, छोरी ओभेरियन क्यान्सरले ग्रस्त भइसकेका छन्, उनीहरूलाई यो रोग हुने बढी खतरा हुन्छ ।

यस्तै, उमेरको वृद्घसिँगै डिम्बाशयको क्यान्सर हुने सम्भावना बढ्छ । सामान्यतः यो रोग ५० भन्दामाथिका महिलामा हुन्छ । ६० वर्षमाथिकाहरूमा यसको झन् बढी जोखिम हुन्छ । सन्तान नभएका महिलाहरूमा यो क्यान्सर हुने सम्भावना धेरै बढी हुने औंल्याउँदै डा. घिमिरे भन्छिन्, 'कम उमेरका महिलालाई समेत हुन सक्छ ।'

सोसाइटीका अनुसार, डिम्बाशयको क्यान्सरबाट बचाउका लागि कुनै खास स्क्रिनिङ परीक्षण छैन । यसको प्रारम्भिक स्थितिमै पहिचान गर्ने कुनै पनि स्त्रिmनिङ टेस्ट हालसम्म बनेको छैन । डिम्बाशय क्यान्सरको २० प्रतिशत केस प्रारम्भिक चरणमै थाहा पाइन्छ । सुरुको अवस्थामै स्थानीय स्तरमा पाइएको ओभेरियन क्यान्सरका ९५ प्रतिशत बिरामी उपचारपछि पाँच वर्षभन्दा बढी बाँच्ने गरेका छन् । यो क्यान्सर प्रारम्भिक अवस्थामै थाहा पाउन हाल धेरै अध्ययन भइरहेको सोसाइटीको तथ्यपत्रमा उल्लेख छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सीडीसी) को तथ्यपत्र अनुसार, सबै महिला यो क्यान्सरको जोखिममा भए पनि युवतीको दाँजोमा पाका महिलामा यसको सम्भावना बढी हुन्छ । यो क्यान्सर हुने ९० प्रतिशत महिला चार दशक नाघिसकेका हुन्छन् । तीमध्ये पनि ५५ वर्ष र योभन्दा बढी उमेरका महिलामा डिम्बाशयको क्यान्सर बढी पाउने गरिन्छ ।

सीडीसीका अनुसार, डिम्बाशयको क्यान्सर स्त्री रोगसम्बन्धी दोस्रो सामान्य क्यान्सर हो । महिलामा हुने सबै क्यान्सरमध्ये डिम्बाशयको क्यान्सरले तीन प्रतिशत मात्र स्थान ओगटे पनि अमेरिकामा हुने कुनै पनि स्त्री रोग सम्बन्धी क्यान्सरभन्दा यसबाट सबैभन्दा बढी मृत्यु हुने गरेको छ । 'यसको उपचार शल्यक्रिया नै हो,' डा. घिमिरे भन्छिन्, 'यसपछि बिरामीलाई किमोथेरापी दिने गरिन्छ ।'

लक्षण

पेटमा असजिलो हुनु

दबाब अनुभव गर्नु

पेट ढुस्स हुनु वा सुन्निनु

कम्मरको हाडनजिक दुख्नु

अपच हुनु

ग्यासले दिक्क लाउनु

वाकवाकी लाग्नु

कब्जियत हुनु

पिसाबसम्बन्धी बानी बदलिनु

निरन्तर पिसाब लाग्नु

भोक नलाग्नु

छिटै पेट भरिएको लाग्नु

पेटको परिधि बढ्नु

थकाइ लाग्नु

पखाला लाग्नु

तौल घट्नु